रोल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।
पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेको र यसबाट दुई पार्टीको सम्बन्धमा दरार उत्पन्न भएको बताएका हुन्। दुई तिहाईको सरकार हुँदा पनि केही काम गर्न नसकेको भन्ने अभिव्यक्ति कांग्रेसको शीर्षमध्येका नेता शेखर कोइरालाबाटै आएको र यसले यसले वर्तमान सरकार धेरै लामो समयसम्म नजाने देखिएको पुनले बताए।
यस्तै काँग्रेस नेताहरुले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएको बताए। ‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौं मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’,
पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली काँग्रेसकै नेताहरुले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’
पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।
‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई पनि त्यही होस् ।
प्रधानमन्त्रीको पार्टीका सांसद् पोेखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’
उनले दुई तिहाइको सरकारबाट अहिलेसम्म आशा जगाउने एउटै पनि काम भएको सुन्न नपाइएको बताए। सरकारले जनअपेक्षा अनुसार सुशासन, समृद्धि, सामाजिक न्याय र समग्र राष्ट्रिय एकताको भावका साथ काम गरे आफूहरु प्रतिपक्षमै बसेर निसर्त सहयोग गर्न तयार रहेको पुनको प्रतिबद्धता थियो।
प्रतिक्रिया