काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको हो। महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।
प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ ।
पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ । ८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार विहान ८ वजे समापन हुने जनपत्रकार संगठनका निर्वतमान केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।
मंगलबार सम्पन्न महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ । तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।
प्रतिक्रिया