×

पार्टीलाई बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल

images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेकपा एकीकृत समाजवादी तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताउनुभयो । 

 आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गर्नुभयो । उहाँले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गर्नुभयो । 

अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्लामात्रै रहेको स्पष्ट पार्नुभयो । “उहाँहरु एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनुपर्दैन,” नेपालले भन्नुभयो । 

शनिबार ५ चैत २०७८ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया