×

आज प्रजातन्त्र दिवस मनाइँदै

images

 आज मुलुकभर ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन्।

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। प्रजातन्त्र दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ। यस दिनले नेपाली जनताको बलिदान र संघर्षलाई उजागर गर्दै प्रजातान्त्रिक मूल्यमान्यताको सम्मान गर्ने अवसर प्रदान गर्छ।

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनता मा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन्।

यस ऐतिहासिक दिनको अवसरमा देशभर विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले कार्यक्रम आयोजना गरिरहेका छन्। विद्यालय, कलेज, सामाजिक संस्था तथा सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्रबारे चर्चा गर्ने तथा सहिदहरूको योगदानलाई स्मरण गर्ने कार्यहरू भइरहेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा देशभर बत्ती बाल्ने, प्रभातफेरी निकाल्ने, रचनात्मक कार्यक्रम आयोजना गर्ने चलन रहँदै आएको छ।

बुधबार ७ फागुन २०८१ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया