काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज साेमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए ।
त्यसअघि ढुंगानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनालले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो ।
प्रतिक्रिया