×

पाकिस्तानको आक्रमणमा तीन क्रिकेटरको मृत्युपछि रशिद खानले भने- अनैतिक र बर्बरतापूर्ण !

images

काठमाडौँ । अफगानिस्तानका स्टार क्रिकेटर रशिद खानले पाकिस्तानको आक्रमणमा तीन क्रिकेट खेलाडी मृत्यु भएको घटनालाई बर्बरतापूर्ण भनेका छन् ।

खानले घटनापछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै पाकिस्तानी हवाई आक्रमणलाई 'त्रासदी' को रूपमा वर्णन गरेका छन् । उनले भनेका छन्- 'नागरिकहरूलाई लक्षित गर्नु पूर्णतया अनैतिक र बर्बरतापूर्ण छ । यस्ता गैरकानूनी र अन्यायपूर्ण कार्यहरू मानव अधिकारको उल्लङ्घन हुन् ।'

साथै रशिद खानले पाकिस्तानसँगको त्रिकोणीय सिरिजबाट पछि हट्ने अफगानिस्तान क्रिकेट बोर्डको निर्णयलाई समर्थन गर्ने बताएका छन् । उनले बोर्डको निर्णयको समर्थन गर्दै भनेका छन्- 'यो कठिन समयमा म हाम्रा जनताको साथमा उभिएको छु, हाम्रो राष्ट्रिय सम्मान सबैभन्दा अगाडि आउनुपर्छ ।'

अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, पाकिस्तानी आक्रमणमा तीन खेलाडीहरू कबीर, सिब्घतुल्लाह र हारुनसहित अन्य पाँच नागरिक मारिएका थिए । बोर्डले भनेको छ- 'खेलाडीहरूप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा, अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा पाकिस्तानसँगको आगामी त्रिकोणीय टी-२० सिरिजबाट पछि हट्ने निर्णय गरेको छ ।'

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यो टी-२० सिरिजमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच खेलिने थियो । खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा हुने तालिका थियो ।

शनिबार २ कात्तिक २०८२ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया