काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट अवैध कारोबारमा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही दिनयता उनीहरूलाई क्रमशः प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने ४७ मिलिग्राम पदार्थसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोही महानगरपालिका–१५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई हिजो (आइतबार) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका डंगोललाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हिजो (आइतबार) भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगञ्ज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसी २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाइ लुकाइ–छिपाइ राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी पाल्पाको तिनाउँ गाउँपालिका–२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीयय तिलक पुनसमेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बीच झै–झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना–९ बस्ने ४० वर्षीय रम्भु दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोल आज (सोमबार) बिहान प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँ बस्ने जितन साहको घरमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको अवस्थामा हो–हल्ला गर्दा अज्ञात व्यक्ति फरार भएको र घर अगाडि बाटोमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिको–२ बसनियास्थित सडकमा स.९ प.३४ ८९ नम्बरको मोटरसाइकल र प्र.२–०२–००१ ह १८२८ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दुधौली नगरपालिको–३ झुेंगा बस्ने ३५ वर्षीय रविना धामीको छोरा १ महिने शिशुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जना र अटोमा सवार ४ गरी ६ जना मध्ये ३ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरेको र ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ गिदिनियाँ भन्ने स्थानमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ३४ वर्षीय नरेन्द्र थापाको आइतबार दिउँसो मृत्यु भएको छ ।
घरबाट भल्कातर्फ जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–१ कैलेश्वर बस्ने ५६ वर्षीया सीता गिरीको आफ्नै भान्जाको मिलमा करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका–७ डेरा गरी बस्ने पाल्पा बगनाशकाली गाउँपालिका(७ खानीगाउँ बस्ने ३८ वर्षीय लीलाबहादुर परियार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको सुरूङगा नगरपालिका–१ मगर टोलस्थित बाटोमा सोही नगरपालिका–१ मुसहरी टोल बस्ने ४५ वर्षीय दुल्ला सदा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ एङ्गेर्सा खोलामा सोही गाउँपालिका–१ बोक्चेन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ बस्ने ३५ वर्षीय पुष्प पहरी आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाहीको कोडैना गाउँपालिका–३ बस्ने चन्दन पासवानको छोरा ४ वर्षीय रितिक पासवानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
पोखरीको डिलमा खेल्ने क्रममा लड्दा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया