काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरोको बैठक भोलि पनि जारी रहने भएको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी रहेको पोलिटव्यूरो बैठकमा भाग लिने सदस्यहरूले प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले नयाँ विधान प्रस्ताव गरेको र त्यसपछि अहिलेसम्म ८ जनाले आफ्नो धारणा राखेको गौतमले जानकारी दिए ।
आजको बैठकमा विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषय छलफलको विषय बनेको छ । आजको बैठकमा भण्डारीको पुनरागमन गम्भीर विषय भएकोले यस विषयमा पार्टीले उचित समयमा निर्णय लिने जानकारी दिएको गौतमले बताए । आजको बैठकमा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश गरेका छन् ।
आजको बैठकमा किरण कुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई, डा. राजन भट्टराई र कर्ण बहादुर थापाले अ-आफ्नो धारणा राखेका थिए ।
पोलिटब्युरो बैठक भोलि बिहान ११ बजे पुन: बस्ने गौतमले जानकारी दिए । आजको पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।
प्रतिक्रिया