×

रविका गाडीचालक थापाको घटनाबारे प्रहरी अनुसन्धानमा

images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक घरको छतबाट खसेर घाइते भएपछि चितवन प्रहरी अनुसन्धानमा जुटेको छ। सोमबार बिहान करिब ३ः५४ बजे भाडामा लिइएको भरतपुर महानगरपालिका–११ स्थित भोजाडमा लामिछाने बसेको घरको छतबाट खसेको अवस्थामा भेटिएका थिए।

घटना हुनुको कारणको खोजिमा प्रहरी लागेको हो। अहिलेसम्म घटनाको बारेमा प्रहरीले कुनै कुरा बाहिर ल्याएको छैन। ‘यो घटना संवेदनशील विषय हो। के कारणले घटना भयो, अहिले भनिहाल्ने अवस्था छैन,’ चितवन प्रहरी कार्यालय चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं।’

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सभापति लामिछानेका चालक हुन्। प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच, चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गाडी चालक दिलबहादुर थापासँग आइतबार रातिसँगै सुतेका रास्वपा महामन्त्री ढकालका चालक कालुराम राजवंशी र क्यामेरा मेन कुशल राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। छतको तलाबाट खसेर गम्भीर घाइते भएपछि घटनाको छानबिनका लागि बोलाइएको छ। तर, उनीहरूलाई नियन्त्रणमा लिने नलिनेबारे सोधपुछपछि थाहा हुने कार्कीले जानकारी दिए। कहिलेकाहीँ उनी राति उठेर हिँड्ने समस्या रहेको बताइएको छ।

रवि लामिछाने बसेको घर साढे दुई तालको छ। घरलाई चारैतिर कम्पाउण्डले घेरिएको छ। माथि घरको छतमा सबैतिर रेलिङ हालिएको छ। सबैभन्दा माथि चालक सुतेको बताइएको छ। तर, सोझै मान्छे खस्ने अवस्था देखिँदैन।

त्यस्तै, घरमा रवि लामिछाने, उनकी श्रीमती निकिता पौडेल, रास्वापाका केन्द्रीय सदस्य दीपक बोहोरा, उनकी श्रीमती, क्यामेरा मेन दीपेन्द्र तामाङ, कुशल राई, मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी र असिस्टेन्ट अस्मिता लामिछाने रहेको प्रहरीले जनाएको छ।

घरको छतबाट खसेका थापाको अवस्था अझै गम्भीर छ। उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको होस खुलेको छैन। घरको दोस्रो तलाबाट खसेर गम्भीर घाइते थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो।

‘उहाँको अहिलेसम्म होस आएको छैन। हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं,’मेडिकल कलेजका उपनिर्देशक डा सुदीप केसीले भने। उनका अनुसार थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। नागरिक दैनिकबाट

मङ्गलबार ५ बैशाख २०८० ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया