काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न लागिएको चर्चाबीच सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ ।
भट्टलाई गभर्नरमा नियुक्त गर्नका लागि आवश्यक योग्यता नपुगेको दाबी गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा पुरक निवेदन दर्ता गरेका हुन् । उनीहरुले गभर्नर नियुक्ति सम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिट दायर गरेका थिए। गभर्नर नियुक्तिसम्बन्धी अन्तरिम आदेशमा छलफल हुने दिन भट्टविरुद्धको पूरक निवेदन पनि पेशीमा समावेश हुने उनले जनाए।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सहमतिका आधारमा ऐनको प्रावधानलाई बेवास्ता गर्दै भट्टलाई नियुक्त गर्न खोजिएको निवेदनमा दाबी गरिएको छ ।
यसअघि वैशाख २ गते नै दायर गरिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ६५ वर्ष नपुगेका व्यक्तिहरूमात्र नियुक्तिको प्रक्रियामा सहभागी गराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशका विषयमा छलफलका लागि आइतबारका लागि पेसी तोकिएको छ । भट्टलाई सरकारले गभर्नर नियुक्त गर्नेगरी कुनै प्रक्रिया नै सुरु गरेको छैन । प्रक्रिया सुरु नहुँदै उनलाई रोक्न भन्दै सर्वोच्चमा रहेको अर्को मुद्दासँगै हुनेगरी पूरक निवेदन दर्ता भएको हो ।
डा. भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्, तर उनको राजीनामा स्वीकृत भएको छैन ।
कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामाको पत्र दर्ता भएको भए पनि त्यसमा तोक लगाएर अगाडि बढाएकी छैनन् ।
प्रतिक्रिया