काठमाडौं। आज घोडेजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ। नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ।
टुँडिखेलको पूर्व-दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ।
आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
घोडेजात्रा किन मनाइन्छ ?
परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले ।
त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने भनाई छ ।
अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया