×

नेपाली विद्यार्थीको मृत्यु प्रकरण्- केआइआइटीले माग्यो माफी, दुई सुरक्षागार्ड बर्खास्त, तीन जना निलम्बित

images

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा माफी मागेको छ । केआइआइटीले आज एक विज्ञप्ति जारी गर्दैै घटनालाई गम्भीर रुपमा लिएको जनाउँदै माफी मागेको हो । उसले गहिरो दुख व्यक्त गर्दै नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुई जना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीन जना निलम्बित भएको जनाएको छ ।

‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ। आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् । भारतीय एक नागरिकको प्रेसर सहन नसक्दा उनले आत्माहत्या गरेको त्यहाँ रहेका नेपाली विद्यार्थीको आरोप छ । ती युवा हाल प्रहरीको नियन्त्रणमा छन् । पक्राउ परेका युवा प्रकृतिको प्रेमी हुन् ।

भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि त्यहाँ विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शन गरिरहेका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले प्रहरीको सहयोगमा जबरजस्ती बसमा हालेर कटक रेलवे स्टेशनमा छोडेको थियो । कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई उनीहरुको लागि कलेज सधैंका लागि बन्द भएको भन्दै घर जान लिखित सूचना दिएको थियो ।

कलेजले विद्यार्थीलाई जबरजस्ती निकालेको कुरा सामाजिक संजालमार्फत फैलिएपछि ओडिसा राज्यका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले यस मामिलामा हस्तक्षेप गरेका हुन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । उनले कलेजले निकालेका नेपाली विद्यार्थीलाई पुनः कलेजमा फर्काउन निर्देशन दिइएको र उनीहरुलाई ओडिसा राज्य सडक यातायात निगमद्वारा संचालित बसहरुमा राखेर पुनः होस्टेल फर्काइने बताएका छन् ।

मन्त्री सूर्यवंशीले नेपाली छात्रा प्रकृतिको आत्महत्याका लागि जिम्मेवार रहेको आरोप लागेका विद्यार्थीलाई पनि पक्राउ गरिएको पुष्टि गरेका छन् । प्रकृतिको मृत्युपछि विद्यार्थीहरुले सोही कलेजमा अध्ययनरत मेकानिकल इन्जिनियरिङका विद्यार्थी अद्विक श्रीवास्तवले प्रकृतिको शोषण गरेको र सोही कारण उनी आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका थिए । मन्त्री सूर्यवंशीका अनुसार आरोपी श्रीवास्तवलाई अदालतमा उपस्थित गराइनेछ ।

मन्त्री सूर्यवंशीले कलेज प्रशासनलाई विद्यार्थीहरुमाथि कुनै किसिमको उत्पीडन वा धम्कीपूर्ण कार्य गरिए कडा कारवाही गरिने चेतावनी दिएका छन् । उनले यस विषयमा ओडिसा राज्य गृह विभागले आवश्यक काम गरिरहेको र यसलाई सम्बोधन गर्न भारतको परराष्ट्र मन्त्रालयसँग पनि छलफल भइरहेको बताएका छन् । ओडिसा टिभीका अनुसार मृतक प्रकृतिको पोस्टमार्टम आज अखिल भारतीय आयुर्विज्ञान प्रतिष्ठान (एम्स) भुवनेश्वरमा गरिनेछ । आज प्रकृतिका परिवारका सदस्यहरु भुवनेश्वर पुग्ने र उनीहरु पुग्नासाथ पोस्टमार्टम गरिने बताइएको छ । 

मङ्गलबार ६ फागुन २०८१ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया