×

युलिया स्वीरिडेन्को बनिन् युक्रेनको नयाँ प्रधानमन्त्री

images

काठमाडौँ । युलिया स्वीरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छिन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सिफारिसमा उनको नाम युक्रेनी संसदले अनुमोदन गरेको हो ।

युलिया यसअघि उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन् । ३९ वर्षकी युलिया पेशाले अर्थशास्त्री हुन् । उनले २०२० देखि प्रधानमन्त्री पद सम्हालेका डेनिस श्मीहालको स्थान लिएकी छिन् ।

उपप्रधानमन्त्रीको रूपमा, स्वीरिडेन्कोले यस वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग खनिज सम्झौता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, त्यसपछि उनको अत्यधिक प्रशंसा भएको थियो ।

त्यस्तै नयाँ मन्त्रिपरिषद्मा केही अन्य परिवर्तनहरू भएका छन् । श्मीहाल अझै पनि मन्त्रिपरिषद्मा रहनेछन् । 

राष्ट्रपति जेलेन्स्कीले एक दिन अघि पुरानो मन्त्रिपरिषद् विघटन गरेका थिए । यसपछि, उनले नयाँ सरकारका लागि आफ्ना छनोट गरिएका व्यक्तिहरूको सूची संसदलाई दिएका थिए ।

जेलेन्स्कीको पार्टी 'सर्भेन्ट अफ द पिपुल' २०१९ देखि २५४ सिटसहित पूर्ण बहुमतमा छ । युलियाले २६२ सांसदको समर्थन पाएकी थिइन् भने २२ जनाले उनको विपक्षमा मतदान गरेका थिए । साथै, २६ सांसदले मतदान गरेनन् ।

संसदमा बोल्दै जेलेन्स्कीले पूर्व प्रधानमन्त्री श्मीहाललाई धन्यवाद दिँदै अमेरिका जस्ता देशहरूसँग नयाँ सम्झौता गर्न अब नयाँ रणनीति आवश्यक रहेको बताए । उनले सरकारले सबै पुराना रक्षा सम्झौताहरूको समीक्षा गर्नुपर्छ र नयाँ रक्षा सहयोग तयार गर्नुपर्ने बताएका छन् ।

बिहीबार २ साउन २०८२ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया