×

नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ- केपी शर्मा ओली

images

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई “आवारा” पार्टीको संज्ञा दिएका छन् । एमालेद्वारा बुधबार पार्टीले आयोजित मदन–आश्रित स्मृति दिवसमा ओलीले कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञासमेत दिन नहुने विचार व्यक्त गरे ।

ओलीले भने, ‘देशको आर्थिक अवस्था कमजोर भएको छ । देश यस्तो अवस्थामा छ । तर इतिहास बोकेको पार्टी भोलि कहाँ पुग्ने हो थाहा छैन । देश कहाँ लाग्ने हो उसलाई थाहा छैन । एमाले एक्लैले देश बनाउने अभिभारा पूरा गर्छ । हामी सत्ता स्वार्थका लागि कसैसँग मिल्दैनौं । देश जनता, सुशासनका लागि, समृद्धिका लागि मिल्छौ ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सत्ता प्राप्तिका लागि मात्र बनेको दाबी गर्दै देश झनै आर्थिक समस्यामा पर्ने चिन्ता व्यक्त गरे । ‘देशमा राजनीतिक अराजकता भयो । सरकार जान्छ कि टिक्छ भन्नेमात्रै चिन्ता छ । देश संकटै संकटले घेरिएको छ ।

आर्थिक अवस्था बिथोलिएको छ । सरकार समाजलाई आफ्नो गतिमा लग्न सचेत देखिँदैन’, उनले भने, ‘एमाले यसमा गम्भीर हुनुपर्छ, गम्भीर छ ।’ अध्यक्ष ओलीले देशलाई समृद्धिको बाटोमा लग्न मदन भण्डारीका सपनालाई अगाडि बढाउनुपर्ने पनि उल्लेख गरे । 

ओलीले आफ्ना सपनाहरू पूरा गर्न नपाउँदै मदन र आश्रितको हत्या गरिएको बताए । ‘नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ, त्यसलाई उहाँका उत्तराधिकारी हामीले पूरा गर्नुपर्ने छ,’ उनले भने ।

ओलीले थपे, ‘कहाँ र कसरी उहाँहरुको हत्या भएको थियो, त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि । त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर, मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नुभएको छ । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नुभएको छ । यो सबैको समयक्रममा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

ओलीले नाम लिएका उमेश गिरी नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी पहिले कोइराला परिवारका विश्वासपात्र थिए, पछि आलोचक बने । केही समयअघि गिरीले एक अन्तर्वार्तामा बाह्य शक्तिको इशारामा गिरिजाप्रसाद कोइरालाले मदन भण्डारीको हत्याको योजना बनाएको दाबी गरेका थिए ।

बुधबार ३ जेठ २०८० १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया