×

कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा, आफ्नै कीर्तिमान तोडे

images

काठमाडौं ।  आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको हो । 

सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ,’ उनले भने । सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् । उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।

बुधबार ३ जेठ २०८० ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया