काठमाडौैं । बाल यौन दुरुपयोगको आरोप लागेको तपस्वी रामबहादुर बम्जनले उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई उच्च अदालत, जनकपुरले गत चैत ६ गते सफाइ दिएको पाइएको छ । उच्च अदालतको आदेशसँग उनी रिहा भइसकेको बताइएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गरेको थियो । आश्रममा आनी बनेर बसेकी ती बालिकालाई बम्जनले ललाई फकाई प्रलोभनमा पारेर यौन शोषण गरेको आरोप थियो ।
जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।
बम्जनविरुद्ध सिन्धुपाल्चोकमा पनि मुद्दा थियो । सिन्धुपाल्चोकमा उनीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता थियो । जहाँ बम्जनका भिक्षु फुलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप थियो ।
यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा २५ कात्तिकमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको थियो ।
सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप बम्जनमाथि छ ।
प्रतिक्रिया