काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।
सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताएकी हुन्।
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा राणाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जानकारी दिएको हो।
मन्त्री डा राणाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ।
सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहेको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताइन्।
“यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु। उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ। यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ”, मन्त्री डा देउवालाई उद्धृत गर्दै उनको सचिवालले भनेको छ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट निकालिएको छ। उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो। आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ।
'साथीको मृत्युलाई लिएर हामीले विरोध गरिरहेका थियौं। तर, हामीलाई एक्कासी होस्टेलबाट जबरजस्ती निस्किन भन्दै निर्देशन दिइयो,' एएनआईसँग कुरा गर्दै नेपाली विद्यार्थी राजन गुप्ताले भने, 'हामीलाई थाहा छैन उनीहरूको उद्देश्य के हो, तर हामीलाई जबरजस्ती होस्टेल खाली गर्न लगाइयो। अब हामी कहाँ जाने? खाना खान पाएका छैनौँ, हामीले सूचना पायौं कि नेपालका सबै विद्यार्थीलाई निलम्बन गरिएको छ र उनीहरूले यथाशक्य छिटो होस्टल खाली गर्नुपर्छ।'
उनले विश्वविद्यालयका कर्मचारीहरू होस्टेलमा आएर कुटपिट गरेको पनि गुनासो गरे। उनले भने, 'कर्मचारीहरू होस्टेलमा आए, हामीलाई बाहिर निस्किन बाध्य बनाए र हामीमाथि उनीहरूलाई कुटपिटसमेत गरे।'
नेपालका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनबाट घटनाको स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्। जानकारी माग्दा उचित जवाफ नपाएको भन्दै उनीहरूले क्याम्पसमा विरोध प्रदर्शन थालेका थिए।
विश्वविद्यालयले विद्यार्थीहरू बीच तनाब बढेको भन्दै उनीहरूलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेको एएनआईमा उल्लेख छ। 'परिस्थिति हेरेर हामीले नेपाली विद्यार्थीहरूलाई घर फर्काएका छौं। अहिले अवस्था शान्त छ' विश्वविद्यालयले जनाएको छ।
प्रतिक्रिया