काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ । प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईँलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो’, आजपाको विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने कार्य नगर्न भन्दै आजपाले अगाडि भनेको छ, ‘ प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौँ ।’
प्रतिक्रिया