×

 कविता  - स्वघोषित प्रेमिका 

images

न लेखेँ प्रेमपत्र तिम्रो नाममा
न देखाएँ पागलपनमा काटिएको हातको दाग
न दिएँ रातो गुलाफ 
न भेटिएँ कुनै प्रतीक्षालयमा  
तिमीलाई पर्खिदै गरेको अवस्थामा
न कुरेँ प्रणय दिवस 
न त राखेँ प्रेमप्रस्ताव
फेरि पनि म भन्छु 
तिम्री स्वघोषित प्रेमिका हुँ ।

तिमी सफल हुँदा म आफैलाई गर्व गर्छु
तिमी दुख्दा म पनि संगैं दुख्छु  
तिमी रुँदा ओभानो रहदैनन् यी नयन
र पनि देखाउन सक्दिन तिमीलाई 
यी भिजेका परेली 
न त देखाउनै सक्छु आँसुले बनाएको 
यी गालामा कुलेसाहरु 
फेरि पनि म भन्छु 
तिम्री स्वघोषित प्रेमिका हुँ ।

न बताउन सक्छु 
तिम्रो एक बोली सुन्नका निम्ति तर्सिएका 
यी कानहरुको तडप
न सक्छु एक झल्को देख्नकै 
निम्ति बिछ्याइएका
यी आँखाका गुनासाहरु राखिदिन
न सक्छु, तिमी नभएरै पनि समिपमै भएझैं लाग्ने
झझल्काहरु मेटाउन

अहँ ,सक्दिन तिम्रै निम्ति धड्किरहने 
यो मुटुको धुकधुकी सुनाउन पनि
न नापेर देखाउनै सक्छु 
कति अग्लिएको छ सम्झनाको शिखर 
न त कहिल्यै मापन गर्नै सक्छु 
तिमीप्रति मेरो इज्जत र मायाको गहिराई 
फेरि पनि म भन्छु 
तिम्री स्वघोषित प्रेमिका हुँ ।

म हेर्दिन तिमीलाई विलगेस्ट,मार्क 
अम्बानि तथा चौधरीको रुपमा 
किनकि मैले देखेकी छु 
धन र प्रेमविचको खाडललाई 
कयौं पटक दोहोर्याए पढेकी छु 
कृष्ण र सुधामाको कथालाई.......

म चाहन्न  तिमीलाई मदन, 
मजनु र भ्यालेन्टाइन बनाउन
किनकि तिमीलाई 
असफल प्रेम इतिहासको पानामा हैन
मेरो चल्दै गरेको यो मुटुमा समावेस गर्नु छ
म तिम्री र तिमी मेरो भएर साथमा बाँच्नु छ ।

प्रेमको दुनियाँमा सफल प्रेमको अर्को एक
जिउँदो इतिहास रच्नु छ
तिमी लियो नार्दो दा  भिन्ची बनिदिए पुग्छ
बस् , तिमी अर्को एउटा सरुभक्त बनिदिए पुग्छ 
फेरि पनि म भन्छु 
तिम्री स्वघोषित प्रेमिका हुँ ।

शुक्रबार​ ५ फागुन २०७९ ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया