×

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कार्यक्रम प्रकाशित

images

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम प्रकाशित गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता  माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

त्यस्तै माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने छ ।

त्यस्तै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम मंसिर २० बाट प्रारम्भ हुने आयोगले जानकारी दिएको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१–२३ गते भित्र आयोगमा निवेदन दिनुपर्ने समय तोकिएको छ । त्यस्तै मंसिर २४ मा निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । त्यसपछि पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकिएको छ ।

आइतबार​ १ मंसिर २०८२ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया