×

आज मोहम्मद जयन्ती, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

images

काठमाडौं ।  आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका बस्तीमा विभिन्न कार्यक्रम हुँदैछन् ।

बाँकेको नेपालगञ्जसहित देशका विभिन्न ठाउँ तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाउँदै छन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।

बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

सोमबार ३१ भदौ २०८१ ०७:१५ AM मा प्रकाशित

प्रतिक्रिया