काठमाडौँ, ३१ भदौ । देशमा आइपरेका प्राकृतिक विपद्को सामना, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहमति जुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठक बुधबार बिहान ११:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको हो।
पछिल्लो समय भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र भूकम्पका कारण जनधनको ठूलो क्षति भइरहेको सन्दर्भमा दलीय राजनीतिभन्दा माथि उठेर साझा धारणा बनाउन यो पहल गरिएको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकको मुख्य एजेण्डा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि 'उच्चस्तरीय राजनीतिक संयन्त्र' गठन गर्नु रहेको छ। यस संयन्त्रको उद्देश्य सरकारी प्रयासलाई सघाउने, उद्धार तथा राहत कार्यलाई एकीकृत बनाउने र भविष्यमा आउने संकटहरूको सामना गर्न दीर्घकालीन नीति बनाउनु हो।
यसअघि भदौ १० र १६ गते भएका छलफलहरूमा दोस्रो तहका नेताहरूको उपस्थिति रहेकोमा, आजको बैठकमा भने विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई नै आमन्त्रण गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा पर्याप्त चासो नदेखाएको भन्दै संसद् र बाहिर पनि विपद् व्यवस्थापनका लागि सर्वदलीय विशेष संयन्त्रको माग जोडतोडका साथ उठ्दै आएको थियो। प्रतिपक्षी र सत्तापक्ष दुवैतर्फका केही नेताहरूले विपद् व्यवस्थापन कुनै एकल मन्त्रालय वा सरकारको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारी भएको भन्दै लामिछानेको यस प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन्।
प्रतिक्रिया