काठमाडौँ । नेकपा एमालेका नेता राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले रास्वपाले सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका हुन् ।
उनले लोकतन्त्रमाथिको चुनौती कहिलेकाहीँ लोकतन्त्रका पक्षपातीबाटै आउने गरेको उल्लेख गर्दै सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहार भएको बताएका छन् ।
उनले भनेका छन्-
लोकतान्त्रिक प्रणालीमा राज्यका तीन अंग — कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका — समान रूपले महत्वपूर्ण हुन्छन्। तीबीचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार हो। यसको अर्थ एउटाले अर्कोको अधिकार क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुँदैन भन्ने हो। सर्बोच्च अदालतको निर्णय र ब्याख्या नै अन्तिम मानिन्छ र सबैका लागि मान्य हुनपर्छ । तर, पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले यिनै आधारभूत लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।
लोकतन्त्रमाथिको चुनौती सधैं विरोधीबाट मात्र आउँदैन; कहिलेकाहीँ लोकतन्त्रका पक्षपाती हुं भन्नेहरूको ब्यवहारले पनि त्यसमा हानी पुर्याउने गर्छ। सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि नीहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहारको रुपमा बुझ्न सकिन्छ ।
प्रतिक्रिया