×

सरकार अरूले नै चलाउने रहेछ, हामी त शोकेसको मान्छे जस्तो रहेछौं : पर्यटनमन्त्री सुदन किराँती

images

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संसद् र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन्। मंगलबार संघीय संसद्‌अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफू बनेपछि त्यस्तो अनुभूति गरेको बताए। 

मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको तर्क समेत गर्नु भयो । उनले पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदलाई आग्रह गरे। संसद्‌मा बल दिएमात्रै आफूहरूले केही गर्नसक्ने अवस्था रहेको उनको भनाइ थियो।

मन्त्री किराँतीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषद्‌बाट पास गराएर संसद्‌मा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए।

मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले भने, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो ।

हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसद्‍मा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईंहरुले बोलिदिनु पर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’

मङ्गलबार २ जेठ २०८० ०२:५२ PM मा प्रकाशित

प्रतिक्रिया