काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा दरबन्दी भएका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखमा २०७७ भदौ ४ गते सरुवा भयो। उनीसँगै ४९ एसपीको सरुवा भएको थियो। अधिकारीसँगै सरुवा भएका अधिकांश एसपीहरुले दुई र केही एसपीले तीन ठाउँकोसमेत जिम्मेवारी सम्हालिसकेका छन्।
एसपी अधिकारी भने अहिलेसम्म सिन्धुपाचोककै प्रहरी प्रमुख छन्। सामान्यतया सिनियर प्रहरी अधिकृतहरुले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेपछि सरुवा गर्ने चलन छ। अझ इन्चार्जको भूमिकामा एक वर्षे कार्यकाल सकिएपछि सरुवा अनिवार्य जस्तै छ प्रहरीमा। तर, एसपी अधिकारी यस्ता अपवाद हुन् जसले इन्चार्ज सम्हालेको १९ महिना बित्दासमेत सरुवा हुन सकेको छैन। उनको सरुवा तत्कालै हुने/नहुने पनि यकिन छैन।
प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा तथा काज सरुवा ननिकालेकाले उनको सरुवा रोकिएको भने होइन। गत माघ २८ गते प्रहरी प्रधान कार्यालयले ६ एसपीको काज सरुवा गरेको थियो। त्यसबेला एक वर्षे कार्यकाल भर्खर सिध्याएकाहरुको समेत सरुवा हुँदा डेढ वर्ष बिताइसकेका एसपी अधिकारीको भने सरुवा निस्किएन। १९ महिनासम्म जिल्ला इन्चार्जको भूमिकामा रहिरहेपछि संगठनकै केही प्रहरी अधिकृतहरु आश्चर्यमा छन्। ‘एसपीको सरुवा त निस्किरहेकै छ। तर, कसैको १९ महिना हुँदासमेत सरुवा नहुँदा हामी आफैं छक्क छौं’, एक प्रहरी अधिकृत भन्छन्।
प्रहरी प्रधान कार्यालयले भने आवश्यकताअनुसार सरुवा तथा काज निकालिने हुँदा म्याद पुगिसकेकाहरुको सरुवा हुने बताउँदै आएको छ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसी आवश्यकता अनुसार सरुवा निकालिने बताउँछन्।
आउँदो वैशाख ३० गते स्थानीय निर्वाचन मिति घोषणा भइसकेको छ। त्यसपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने हुन्छ। अहिले सरुवा भएर गएका प्रहरी अधिकृतले नै चुनाव गराउनुपर्ने भएकाले सत्ता गठबन्धनका दलले सोहीअनुसार ‘तीन पुस्ते’ हेरेर सरुवा गर्न खोज्दा ढिलासुस्ती भएको प्रहरीको कर्मचारी प्रशासनमा लामो समय बसेर अवकास पाएका एसपी रवीन्द्र रेग्मी बताउँछन्। उनी भन्छन्, ‘सत्ता गठबन्धनलाई पनि मिलाएर सरुवा गर्नु पर्यो। त्यो मिलाउन समय लागेकाले सरुवाको प्रक्रिया पनि रोकिएको हो।’
पूर्वएसपी रेग्मीको कुरालाई पुष्टि गर्ने पात्र हुन् एसपी नवराज अधिकारी। उनको केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहजिल्ला चितवन सरुवा भएको थियो। माओवादी केन्द्रनिकट मानिएका एसपी अधिकारी प्रचण्डको गृहजिल्लामा सरुवा हुनुलाई चुनावलक्षित सरुवाको रुपमा कतिपयले अर्थ्याउने गरेका छन्।
अझ सरुवाको पालो कुरेर बस्नेहरुमा एसपी भन्दा पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको संख्या ठूलो छ। २०७७ पुस २१ गते प्रहरी प्रधान कार्यालयले ६९ जना डीएसपीको सरुवा गरेको थियो। त्यसबेला सरुवा निस्किएकाहरुको १५ महिना पुग्न लाग्दासमेत नयाँ ठाउँमा सरुवा हुन सकेको छैन।
सोलुखुम्बुमा कवित कटवाल, ओखलढुंगामा गोबिन्दराज काफ्ले, म्याग्दीमा श्यामकुमार राई, रामेछापमा नवराज ढुंगाना, जाजरकोटमा मधुकुमार थापा, रुकुम पूर्वमा गणेशबहादुर श्रेष्ठ, रुकुम पश्चिममा धु्रबकुमार श्रेष्ठ, रसुवामा देवेन्द्र पाण्डले जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेको १५ महिना पुग्न लाग्दासमेत उनीहरुको सरुवा हुन सकेको छैन।
प्रतिक्रिया