×

विचारको हिसाबले एकीकृत समाजवादी सही छ- महासचिव घनश्याम भुसाल

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान सरकार नालायक र फासिस्ट हुँदै गएको दाबी गरेका छन् । आज (आइतबार) पार्टीनिकट समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नालायक र फासिस्ट हुँदै जाँदा सडक अराजक हुँदै जाने बताए । उनले सरकार फासिस्ट हुँदै जानु र सडक अराजक हुनु दुवैलाई समाधान मान्न नसकिने उनले बताए । वर्तमान परिस्थितिको समाधानको बाटोमा एकीकृत समाजवादी रहेको उनले बताए ।

‘सत्ता नालायक छ, यो फासिस्ट हुँदै जानेछ । जति यो नालायक र फासिस्ट हुँदै जानेछ, सडक त्यति नै अराजक हुँदै जानेछ । यी दुईटै समाधान होईनन् । यस्तो बेलामा एउटा जिम्मेवार, क्रान्तिकारी हस्तक्षेप मुलुकले पर्खिएको छ । त्यो ठाउँमा एकीकृत समाजवादी छ,’– उनले भने ।

साथै, महासचिव भुसालले सबै वामपन्थीहरु एकदिन एकीकृत समाजवादीमा आउने उनको दाबी छ । नेता भुसाललले आज लाज, घमण्ड र अभिमानले एकीकृत समाजवादीमा नआएकाहरु एकदिन नआई सुख नै नरहेको दाबी गरे । ‘कोही पनि वामपन्थी यहाँ नआई सुख छैन । आज लाजले नआएको हुन्, घमण्ड, अभिमानले नआएका हुन् । भोलि यहाँ नआइकन सुख छैन । आजको वाम भाष्य हामीले बनाएको होईन ? हामीले बनाएका हौं । विचारको हिसाबले एकीकृत समाजवादी सही छ । हाम्रो विचारमा जनतालाई ल्याउनु पर्नेछ,’– उनले भने ।

सत्ताको नालायकी र सडकको अराजकता (पपुलिजम) को विरुद्धमा जिम्मेवार पार्टीको हिसाबले उभिने गरी आफूहरुले निर्णय गरेर अगाडि बढिरहेको उनले बताए । अहिले देखिएका यावत समस्याको समाधान नेपाली कांग्रेस, एमाले र माओवादीले दिन नसक्ने उनको दाबी छ ।

आइतबार​ ४ फागुन २०८१ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया