×

‘रअ’का भूतपूर्व एजेन्ट लक्की बिष्टको दाबी :– ओली सरकार एक महिनाभित्र ढल्छ

images

काठमाडौँ ।  भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार केही दिनमै ढल्ने दाबी गरेका छन्।नवभारत टाइम्ससँग कुराकानी गर्दै पूर्व ‘रअ’ एजेण्ट बिष्टले १० देखि एक महिनाभित्र नेपालको सरकार ढल्ने दाबी गरेका हुन्।

‘आज १२ तारिख हो। तपाईं नोट गर्नुहोस्, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, १०, १५, २०, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ। जुन दुई महिना पहिले बनेको थियो’, उनले भनेका छन्। यसका लागि एजेन्सीले काम गरिरहेको समेत युट्युबमा प्रकाशित अन्तरवार्तामा उनले दाबी गरेका छन् । 

विपक्षी दलहरूले ओली नेतृत्वको सरकार अहिले स्थिर नभएको बताइरहँदा उनले यस्ताे खुलासा गरेका हुन्। उनकाे यस्ताे दाबीले नेपालमा हालैका दिनमा देखिएका राजनीतिक उतारचढाव र सत्ता समीकरणका विषयले यसलाई थप चासोको विषय बनाउने देखिन्छ। ‘रअ’मा कार्यरत रहँदा थुप्रै देशमा आफूले काम गरेको बताएका उनले नेपालमा पनि सो क्रममा थुप्रै मिसन सफल गरेको बताएका छन् । तर, काम गर्न नेपाल जति गाह्रो अरू देशमा नभएको उनको भनाइ छ ।  नेपाल खतरनाक लाख्ने भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् । 

उनले नेपालमा विश्वभरका गुप्चतर एजेन्सी सक्रिय हुने र तिनको सहभागिता अत्यधिक हुने दाबी गरेका छन् । उनी भन्छन्, “नेपालमा जति मान्छे छन्, त्यसभन्दा बढी एजेन्ट छन् ।”

उनले अन्तर्वार्तामा आईएसएसको शक्तिशाली मान्छेलाई नेपाल बोलाएर नेपालबाट भारत लगिएको पनि खुलासा गरेका छन् । तर, यो कहिलेको घटना हो भनेर उनले खुलाएका छैनन् । पाकिस्तानबाट आईसएसआईका मान्छेलाई नेपाल ल्याएर नेपालबाट भारत लगिएको अपरेसनको नाम ‘अपरेसन क्यासिनो’ रहेको उनको दाबी छ ।

उनी भारतका लागि सबैभन्दा खतरनाक देश नेपाल भएको दाबी गर्छन् । नेपालमा विश्वभरका गुप्तचर एजेन्सीको चलखेल हुने हुँदा भारतका लागि खतरा भएको उनको दाबी छ ।

उनी नेसनल सेक्युरिटी ग्रुप (एनएसजी)का कमान्डो पनि हुन् । उनी यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा गार्ड पनि रहिसकेका छन् ।

आइतबार​ ३० मंसिर २०८१ ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया