काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् । बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् ।
बालेनले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । सङ्घीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ । 'नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ' आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
'हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ' उनले भनेका छन् ।
मेयर बालेनले काठमाडौंको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौंबासीको अधिकारको कुरा भएको पनि उल्लेख गरेका छन् । ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन् ।
प्रतिक्रिया