काठमाडौं । यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समेत अझै ९ प्रतिशत रोपाइँ बाँकी रहेको देखिएको छ ।
यसबर्ष पनि पहिला जस्तै सिँचाइको अभाव तथा रासायनिक मलको अभाव कायमै रहेको छ । कृषि विभागका अनुसार नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७८ हजार ९६६ हेक्टर रहेको छ । जसमा हैलेसंम १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइँ भइसकेको छ । त्यस्तै १ लाख २४ हजार ८० हेक्टर क्षेत्रफलमा अझै धान रोपाइँ हुन बाँकी रहेको छ ।
प्रदेशको हिसाबले सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा ७६.५४ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा सुख्खा भएका कारण रोपाइँ हुन सकिएको छ । नेपालको अन्नको भण्डार मानिने मधेशमा समयमा रोपाइँ हुन नसक्दा यस बर्ष धानको उत्पादन घट्ने देखिएको छ । विभागका अनुसार मधेसमा अझै २३ प्रतिशत भन्दा बढी रोपाइँ हुन बाँकी रहेको छ । गत बर्ष यस समयसम्म ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । त्यस्तै कर्णाली प्रदेशमा ९८.४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी बागमती प्रदेशमा ९३.५६ प्रतिशत, कोशी प्रदेशमा ९४.४२ प्रतिशत र गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ भएको छ ।
नेपालमा गत बर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएको थियो भने यस बर्ष ४१ हजार ३७० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । गत बर्ष कुल ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को तुलनामा ४.०४ प्रतिशतले बढी थियो ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा भने १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान खेती गरिएको थियो, त्यसबाट ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयको आँकडा अनुसार नेपालमा हाल बार्षिक करिब ८ लाख टन धान अपुग रहेको छ ।
प्रतिक्रिया