×

माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ-प्रचण्ड

images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको आकर्षण बढेको बताएका छन् । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, ‘भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’

भेटका क्रममा माओवादी केन्द्र चुरे गाउँ कमिटीले विभिन्न माग राख्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका थिए । माओवादी केन्द्रले यही जेठ २ गतेदेखि बैतडीबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ । 

अभियान बैतडीबाट सुरु हुँदैछ । अभियानका क्रममा लोकमार्गमा परेका प्रत्येक प्रदेशमा १/१ वटा जनसभा गर्ने कार्यक्रम छ । प्रत्येक जिल्लाहरूमा १/१ अन्तरसंवाद वा त्यस्तै प्रकृतिका अन्य कार्यक्रम आयोजना गर्ने माओवादीले जनाएको छ ।

शुक्रबार बैतडीको पाटनमा अभियानको उद्घाटन हुनेछ । भोलि नै डोटीको दिपायलमा कार्यक्रम पनि हुनेछ । ३ जेठमा अछामको मंगलसेनमा र ४ जेठमा दैलेखको सदरमुकाममा जनसभा हुनेछ ।

यसैगरी ५ जेठमा जाजरकोट खलंगामा, ६ जेठमा पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ ।

यसैगरी ७ जेठमा पूर्वी रुकुमको रुकुमकोट र रोल्पाको थवाङमा, ८ जेठमा बागलुङमा, ९ जेठमा पर्वतको कुश्मामा र १० जेठमा कास्कीको पोखरामा जनसभा हुनेछ । बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिने माओवादीले जनाएको छ ।

यसअघि माओवादीले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ सञ्चालन गरेको थियो । अभियान सफल भएको उल्लेख गर्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पनि सफल हुने विश्वास व्यक्त गरे ।

बिहीबार २ जेठ २०८२ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया