×

सभापति रवि लामिछानेको थुनछेक बहस जारी

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको हो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् ।  पूर्वगृहमन्त्री लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन्। पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविबारे न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।

सोमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए। उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क पेस गरेका छन्।  सरकारी र जाहेरवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले आज बहस थालेका हुन्। अहिले पूर्वन्यायाधिवक्ता पन्तले बहस गरिरहेका छन् भने रविका पक्षमा अर्का पूर्वन्यायाधिवक्ता रमन श्रेष्ठले पनि बहस गर्ने तयारी छ।  यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए। 

यसको भोलिपल्ट पुस २६ शुक्रबार साँझ काठमाडौँ आइपुगेका रास्वपा सभापति लामिछाने पुस २८ आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए। त्यस दिन बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीले त्यही दिन थुनछेक बहस थाल्न समय अभाव भएको भन्दै रविलाई न्यायिक हिरासतमा लान आदेश दिएका थिए।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ । लामिछानेका तर्फबाट पन्तपछि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नेछन् ।  उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछन् ।

बुधबार २ माघ २०८१ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया