काठमाडौ । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले काठमाडौंमा भव्य आमसभा गर्ने निर्णय गरेको छ । आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
‘आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छौ,’– बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने ।
उनले भने, ‘आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ। यो बीचमा सुरूमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो। कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरूमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो। त्यसको सशक्त रूपमा आओस् भन्ने थियो। यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो। त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेका छौं। आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिवद्धता छ। आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बसेको हो । समाजवादी मोर्चामा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रा राय यादवलगायतका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया