×

सरकारको स्वैच्छाचारी रवैया बेठीक, गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने- विपक्षी दल

images

काठमाडाैं। प्रतिपक्षी दलहरुले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ। माओवादी केन्द्रको आह्वानमा बुधबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले संसद छलेर अध्यादेश ल्याउने कामले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै विरोध गरेको हो।

सरकारको गलत रवैयाबिरुद्ध प्रतिपक्षी दलको चासो र चिन्ता रहेको बैठकपछि माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिए। बैठकले संघीय संसदको नियमित बैठक बोलाउन माग समेत गरेको छ। सरकारले संसद बैठक बोलाउन आलटाल गरे वा संसद छलेर अघि बढ्न खोजे विशेष अधिवेशन बोलाउन माग गर्ने सम्मको तयारी भएको पुनले बताए। दुई तिहाईको बलमा जनताको आवाज दवाउनेसम्मको कोशीस भएको बैठकको ठहर रहेको उनले बताए।

त्यस्तै बैठकले दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षड्यन्त्र भइरहेको र दुइदलीय व्यवस्था तर्फ देशलाई लैजाने कोसीस बेठिक रहेको निष्कर्ष निकालेको पुनले जानकारी दिए।

प्रतिपक्षी दलको साझा धारणा बनाउन अनौपचारिक ड्राफ्ट कमिटी बनाएको उनले बताए। बैठकका बिभिन्न ६ प्रतिपक्षी दलका नेताहरुको उपस्थिति रहेको थियो। अन्य प्रतिपक्षीमा रहेका दलहरुको पनि सकारात्मक समर्थन रहेको र आगामी बैठकमा सहभागी हुने खवर प्राप्त भएको पुनले जानकारी दिए। साथै सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताए । 

कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ । ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय समेट्ने विपक्षी दलको तयारी छ ।

बुधबार २ माघ २०८१ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया