काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साछि बन्न पुगेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको टिप्पणी गरेका हुन् ।
प्रचण्डले भने- 'संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरु जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।'
गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।
सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफुले मिहनेत गरेको स्मण गर्दै अध्यक्ष प्रचण्डले आफुले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भुमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।
उनले भने- 'सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईहरुको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ । गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृति हेरेर मैले त्यतिबेलै भनेको थिएँ- हजारौँ योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा संकट चिहानमा मिल्काइएका पात्र र प्रवृतिबाट छैन, यदि संकट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ । त्यसैले प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनुहोला भनेर वर्षदिन अघि नै मैले भनेको थिएँ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन्। अप्राकृतिक रुपमा बन्ने यस्ता गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा मैले स्मरण गराएको थिएँ ।'
प्रतिक्रिया