काठमाडौं । घुस प्रकरणको अडियो सार्बजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको पद संकटमा परेको छ । मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ ।
त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको हो । सार्बजनिक अडियोमा मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा थमौती र भूमि आयोगको अध्यक्ष बनाउन घुस लिएको दाबीसहित अख्तियारमा उजुरी परेको छ ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको भन्दै गत असार १० गते उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगले अनुसन्धान अघि बढाएको छ र अख्तियारले यस विषयमा मन्त्री गुप्तासँग समेत सम्पर्क गरेको बताइएको छ । त्यस्तै मन्त्री गुप्ताले घुस खाएको भन्दै आरोप लगाएका भूमिसुधारमन्त्री बलराम अधिकारीको यस प्रकरणमा थप संलग्ता बारे समेत अख्तियारले अनुसन्धान गरिरहेको बुझिएको छ ।
यसै विषयलाई लिएर आइतबारको संसद् बैठक समेत सांसदहरूले घुस लिएको र डिल गरेको आरोप लागेका मन्त्रीमाथि छानबिन गरेर कारबाही गर्न माग गर्दै यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत जवाफ माग गरेका छन् ।
सुशासनको चर्को भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यो प्रकरणपछि अब मन्त्री गुप्तालाई हटाउने दबाब बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्री गुप्तामाथि एक्सन लिने बताइएको छ ।
पर्सा-३ बाट प्रतिनिधि सभामा विजयी एमालेका मन्त्री गुप्ताको यो प्रकरणले सरकारमाथि थप नैतिक र कानुनी प्रश्न उठेको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयकै पदाधिकारीहरूमाथि अनुसन्धान चलिरहँदा बाहिर आएको यस घुस प्रकरणले सरकार र सत्ता पक्षलाई तरंगित गरेको छ ।
सत्ता पक्षकै सांसदहरुले पनि अडियो प्रकरणको छानबिन गर्न माग गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले यस विषयमा छानबिन गर्नुपर्ने र दोषी देखिए मन्त्रीलाई हटाउनु पर्ने बताएका छन् ।
प्रतिक्रिया