काठमाडौँ, ३० असारः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति (आज)आइतबार गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि (आज) असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नुभएको थियो ।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया