काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले भिजिट भिसा प्रकरणको मुद्दा नछाडेको बताएका छन् । आज (शनिबार) पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले भ्रष्टीकरण र भ्रष्टाचारविरुद्धको मुद्दा नछाडेको बताएका हुन् ।
संसद् अवरोध खुलाउने सन्दर्भमा माओवादीले गरेको दुई बुँदे सहमतिको बारेमा अहिले आफूलाई धेरै जानकारी नरहेको पनि उनले बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यस विषयमा सोचविचार गरेर नै निर्णय गरेको हुनसक्ने उनले बताए । उक्त निर्णयले सुशासनको अभियानलाई सहयोग नै पुग्ने उनले विश्वास व्यक्त गरे । निर्णयका सन्दर्भमा पार्टीभित्र समीक्षा हुने पनि उनले बताए ।
‘त्यसले हाम्रो पार्टीलाई, सु्शासनको अभियानलाई हित पुग्नेगरी भयो कि भएन भन्ने प्रश्नमा समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको पनि हुनसक्छ । अहिले नै पार्टीमा छलफल नगरी मैले केही भन्नसक्ने स्थिति रहेन । तर, हामीले यो मुद्दा चाहीँ छाड्दैनौं । यो सामान्य कुरा होइन । भ्रष्टाचारको यो स्तरको प्रक्रिया अगाडि आएको छ । यो मुद्दा हामीले छोडेका होइनौं । भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धमा अभियान जारी राख्छौं,’– उनले भने ।
प्रतिक्रिया