×

एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन- प्रधानमन्त्री केपी शर्मा ओली

images

 काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । 

‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट गैरआवासीय नेपालीलाई आग्रह गरे । 

उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरुसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन। ’

साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनलेसंस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।

उनले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन। एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरु पूरा हुन सक्दैनन्। यसका उदेश्य पूरा गर्न जे कारणले यसको स्थापना भएको थियो ति कारणहरु कार्यान्वयन भएका छैनन्। यस संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै मेरो साथ रहन्छ।

बुधबार १ जेठ २०८२ ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया