×

रवि र छविको मुद्धामा सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश

images

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश भएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्चको प्रमाण मिसिल झिकाउन आदेश दिएको हो । 

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले उक्त मुद्दामा मूल मिसिल मगाउन आदेश दिएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । 

लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको यस मुद्धामा लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत दाखिला गरेर दिएको निवेदनमा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । 

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

जोशीले पनि बिगोबापतको जमानत पेस गरेपनि उनलाई पनि जिल्ला अदालतले रिहा गर्न नमिल्ने आदेश दिएपछि उच्च अदालत गएका थिए । 

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । यसअघि भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन् ।

बिहीबार २८ कात्तिक २०८२ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया