×

विद्युतको बक्यौता रकम नतिरे १५ दिनभित्र फेरि लाइन काटिन्छ-कार्यकारी निर्देशक कुलमान घिसिङ

images

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्।घिसिङले बुधवार पत्रकार सम्मेलन गर्दै  बक्यौता उठेन भने प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट गरे ।

घिसिंङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौं। अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौं।’

यो भन्दा अगाडि २८ किस्ता तोकेर एक किस्ता तिर्ने १४ उद्योगको  लाइन जोडिसकेको उनले बताए । कुल ३९ उद्योगमा समस्या रहेको बताउँदै उनले ७ वटाको स्टे अर्डर आएको र २८ उद्योगले कुनै पनि किस्ता नतिरेको उनले बताए । 

‘१५ दिनभित्र उहाँहरूले नदिए हामीले गरेको बिल नबुझाए हामी आफ्नो प्रक्रियामा फेरी लाग्नेछौँ । सरकारले भनिसकेको छ १५ दिनभित्र बक्यौता रकम असुल गर्नू,’ उनले भने, ‘यो नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको दायित्वभित्र आएको छ ।’ १५ दिनभित्र बक्यौता नउठे सरकार र मन्त्रालय बक्यौता उठाउनेतर्फ लाग्ने विश्वास व्यक्त गरे । 

यो भन्दा अगाडि पनि ३ महिना समय दिएको बक्यौता तिर्न दिएको पनि उनले स्मरण गरे । उनले भने, ‘१५ दिनपछि पनि बुझाइएन भने यो सरकार मन्त्रालय र प्राधिकरणको मात्रै सरोकारको विषय रहेन । आम जनसरोकारको विषय बन्नेछ । आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्ने लागेको छ ।’

पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन्।

उनले आफूले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुनअनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए। उनले आफूमाथि लागेका आरोपबाट  विचलित नहुने बताउँदै प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन्।

बुधबार २८ कात्तिक २०८१ ०९:१४ PM मा प्रकाशित

प्रतिक्रिया