×

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

images

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे ।  सोमपाल र आदिलले  समान ३/३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।
 
लिग दुई को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो । स्कटल्याण्ड २१ खेलमा ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । 

बुधबार २९ असार २०७९ ०७:३३ AM मा प्रकाशित

प्रतिक्रिया