×

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६

images

नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत/स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गर्नुभयो ।  मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ तारिखसम्म भारतको तीनदिने औपचारिक भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताउनुभयो ।
    
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले यही अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग भर्चुअल वार्ता गर्नुभएका बारेमा प्रवक्ता लम्सालले बताउनुभयो । सो अवसरमा दुवै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री देउवाले गत मार्च ३० मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले बिम्स्टेक सदस्य राष्ट्रले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनजन सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिकरूपमा चाल्नुपर्ने कदमकाबारेमा धारणा व्यक्त गर्नुभएको थियो ।

भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिम्स्टेक बडापत्र पारित गरेको थियो । नेपालकोतर्फबाट प्रधानमन्त्रीले वडापत्रमा हस्ताक्षर गर्नुभएको थियो । श्रीलङ्काको कोलम्बोमा भएको शिखर सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डा नारायण खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

यस्तै परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले मार्च २५ देखि २७ तारिखसम्म नेपालको भ्रमण गर्नुभएको थियो । सो अवसरमा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध र सहयोगका महत्वपूर्ण पक्षमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा जोड दिइएको थियो । 

बुधबार ३० चैत २०७८ ११:५९ PM मा प्रकाशित

प्रतिक्रिया