काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गर्नुभएको हो । पूर्वराष्ट्रपति ट्रम्पले बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गर्नु भएको मुद्दामा पूर्ववकिल कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र संचार माध्यममार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाउनुभएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्राहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाउनुभएको छ । वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धको बारेमा चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ वटा मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेका छन् ।
मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन् । कोहेनले दशक भन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । पूर्ववकिल कोहेन ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो ।
तर सन् २०१६ को निर्वाचनपछि उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो । सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो ।
सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक समेत बनेका थिए । एजेन्सी
प्रतिक्रिया