×

रवि लामिछानेको थुनछेक बहस सुरु, निकिताले इजलासमै लगाइदिइन् टीका

images

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थित गराइएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपनि थुनछेक बहसका लागि लामिछानेलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थित गराएको हो।

लामिछानेलाई अदालत उपस्थित गराएसँगै थुनछेक बहस समेत सुरु भएको छ। प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर भएका हुन्। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाइ लागेको छ। साथै अदालतको इजलासमा उपस्थित  लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सोमबार २९ पुस २०८१ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया