काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का भएको हो।
सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । यस्तो अवस्थामा नेपाल प्रहरीले उनलाई स्वदेश फर्काएर अनुसन्धान चलाउन सजिलो हुन सक्नेछ।
यसअघि गत वैशाख ३० गते पनि उनको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यतिबेला उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय गरेको थियो।
राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो। जिल्ला अदालत कास्कीले पनि सहकारी ठगीमा मात्रै रोक्का गर्न नमिल्ने भन्दै स्वीकृति दिएको थिएन।पछिल्लो समय सम्पत्ति शुद्धिकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको हो।
नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्नसक्ने ऐनमा व्यवस्था छ ।
प्रतिक्रिया