×

चौथो पटक मन्त्रिपरिषद् विस्तार, पदभार ग्रहण गर्दै मन्त्री भण्डारी भन्छन : भाषण गर्ने मात्र होइन, एक्सनमा उत्रिन्छु

images

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका छन् । ती चारजना नयाँ मन्त्रीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलल मन्त्रीहरू कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

यससँगै प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ । प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानीसहित तीन मन्त्रालय भने आफूसँगै राखेकी छन् । 

श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयस चौलागाईँले वन तथा वातावरण मन्त्रालयस भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । 

सङ्घीय कार्यपालिकामा कुल २१ वटा मन्त्रालय छन् । यसअघि नै मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीले एउटाभन्दा बढी मन्त्रालय हेर्दै आएका छन् ।

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको छ । 

अहिले मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय हेरफेर गर्दा प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएकी छन् । यसअघि सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण नवनियुक्त इङ्नामले पाएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन् ।

दोस्रो पटक विस्तार हुँदा अनिलकुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदीश खरेल मन्त्रिपरिषद्मा परेका थिए ।

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा डा सुधा गौतम र बब्लु गुप्ता मन्त्री बनेका थिए । त्यतिबेला नाम सिफारिस भएको भए पनि अन्तिम समयमा दुई जना मन्त्री बन्न पाएका थिएनन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्री बनेपछि कार्कीले मन्त्रिपरिषद्मा ११-१२ सदस्य हुन सक्ने बताएकी थिइन् । तर, उनले चौथो पटक मन्त्रीपरिषद् विस्तार गर्दासम्म मन्त्रीहरूको सङ्ख्या १४ पुगेको छ ।

पदभार ग्रहणपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा  भण्डारीले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए। आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ।

त्यस्तै भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन्। उनले भने,‘जतिपनि संगठित गिरोहहरु छन्। तिनीहरुलाई कठोर कारवाही गर्नुपर्छ। यो जालो तोड्नैपर्छ। त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ। लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने छ।’

उनले आन्दोलनमा जेनजीहरुको पीडा जस्तै प्रहरीहरुको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए। ‘आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ। दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ।’   

साथै पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।

उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ। जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ। आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन्। कर्णाली उठ्यो भने देश पनि उठ्छ।’ उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

 

शुक्रबार​ २७ मंसिर २०८२ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया