काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बुटवल लगिँदैछ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि लैजाने तयारी गरेको छ । लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
लामिछानेलाई आज रुपन्देही ल्याइने भयपछी रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो ।विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।
लामिछानेलाई रुपन्देही ल्याउने तयारीसँगै रास्वपाले भैरहवामा प्रदर्शनको तयारी गरिरहेको छ । नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ ।
यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रतिक्रिया