×

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’ पक्राउ

images

काठमाडौं । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ । 

कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसादेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।

रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्तमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गरेको प्रहरीको आरोप छ।

शंकरलाई भदौ २५ गते काठमाडौँको बूढानीलकण्ठ–३, हात्तिगौंडाबाट पक्राउ गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, उल्लेखित व्यक्तिबाट ठगिएको भए यथाशिघ्र ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

बिहीबार २७ भदौ २०८१ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया