हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
विश्वासको मत लिनु अघि कांग्रेसमै विवाद देखिएको छ । बहादुरसिंह लामाले राजीनामा दिनुअघि आफुले मन्त्री बनाएका तिन जनालाई निरन्तरता दिनुपर्ने शर्त राखेका थिए र त्यसमा सहमति भएको थियो । तर अहिले बानियाँले सो सहमति पालना नगरेको भन्दै लामाले तीन जनालाई मन्त्री नबनाए विश्वासको मत नदिने रणनीति बनाएका छन् ।
बागमती प्रदेशमा रहेका १४ मन्त्रालयमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले आफ्नो भागका ६ मन्त्री सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई जनामा मात्र मन्त्री पठाएको छ ।
प्रतिक्रिया