काठमाडौं। नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले आफ्ना बाबुविरुद्ध प्रतिशोध राखेर झुठा मुद्दा लगाएको दाबी गरेका हुन्। राजपुर नगरपालिकाका मेयरसमेत रहेका आलमले २०६४ को निर्वाचनमा त्यहाँ घटना नै नघटेको बताए।
उनले भने, ‘बम विस्फोट भएकै छैन, घटना घटेकै होइन। यो मुद्दाको उठान कहाँबाट भयो भन्ने तपाईँहरुले बुझिदिनुपर्छ। मेरो बुबासँग २०६४ सालमा शैलेन्द्र साह भन्ने चुनाव लडेका थिए। यो जुन घटना भनिएको छ, वैशाख ३० गते। त्यो भन्दा एक महिना पहिला शैलेन्द्र साहले निर्वाचन अधिकृतलाई निवेदन दिनुभएको थियो। उहाँले चुनावमा धाँधली गर्नुहुन्छ, बुथ कब्जा गर्नुहुन्छ भनेर एक महिना पहिला नै निवेदन दिनुभएको थियो। अचानक वैशाख ३० गते गएर उहाँले सीडिओ अफिसमा निवेदन हाल्नुभयो । अफताब आलमको घरमा बम पड्किएको छ भनेर। यसरी यो मुद्दा सुरुवात भएको छ। मेरो बुबासँग चुनाव लड्ने व्यक्तिको रिसिबी थिएन भनेर कसरी पत्याउनु ? केही दिनअघि उहाँ गौरिशंकर राम चमारलाई लिएर यहाँ उपस्थित हुनुभएको थियो।’
साथै, आफ्ना बाबु अफताब आलमको मुद्दाको सन्दर्भमा प्रहरीले गौरिशंकरलाई एक वर्ष थुनामै राखेको उनको दाबी छ। अधिवक्ता सञ्जिवकुमार मल्लिकले गौरिशंकरले २०६८ सालमा गरेको बयानमा आफ्नो मुहारमा भएको खत सानोमा स्टोभ पड्किएर भएको भनी उल्लेख गरिएको बताए।
उनले भने, ‘गौरीशंकर चमार यसमा एक जना पात्र बनाइएको छ। त्यो बनावटी पात्र हो। उहाँको अदालतको कागज छ। अदालतमा आफैं निवेदन दिनुभएको छ, बयान गर्नुभएको छ। मलाई जबरजस्ती प्रहरीले र त्यहाँका अन्य दलका कार्यकर्ताले मलाई समातेर ल्याएर थुनेर कागज गराएको भनेको छ। अफ्ताब आलम निर्दोष हो। कुनै बम काण्ड, घटना भएको छैन। म त खाना पकाउने बेलामा २०५५/०६५ सालतिर स्टोभ पड्केर घाइते भएको थिएँ। त्यसैमा मेरो मुख जलेको थियो। आजको होइन।’
दाबी प्रमाणित गर्ने भार वादीमा हुने बताउँदै उनले घटना भएको पुष्टि गर्ने प्रमाण पेश गर्न नसकिएको उनले बताए। गौरीशंकरले आलमको घरमा बम पड्किएर भएको घाउको खत भनी बोलेको कुरा पुष्टि हुन नसक्ने उनले बताए।
प्रतिक्रिया